काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका-७, वसन्तापुरका अल्लु पासीको घर शुक्रबार साँझ उल्लासमय थियो । घर रंगीचंगी ध्वजापताकाले सजिएको थियो, पाहुनाहरूको चहलपहलले माहोल झन् रमाइलो बनाएको थियो । कतिपय नाचगानमा मस्त थिए भने कतिपय खानपानमा व्यस्त ।
अल्लुका २३ वर्षीय जेठा छोरा अर्जुन पासीको विवाह शनिबार तय थियो । जन्ती उत्तर प्रदेश, जागर गाउँ जाने कार्यक्रम थियो । तयारी लगभग पूरा भइसकेको थियो, बेहुली लिन जाने ‘गौना’को सम्पूर्ण बन्दोबस्त मिलाइएको थियो ।
अर्जुनले आफ्नै वडाका एकजनासँग १७ हजार रुपैयाँ लिनुपर्ने रहेछ । उनी शुक्रबार साँझ उक्त रकम संकलन गर्न गए तर, त्यही बेला उनी घर फर्किने क्रममा दुर्घटनामा परे । विपरीत दिशाबाट आएको ट्याक्टरले उनको मोटरसाइकललाई ठक्कर दियो ।
प्रहरीका अनुसार घटनास्थलमा गम्भीर घाइते भएका अर्जुनलाई भेरी अस्पताल लगियो, जहाँ चिकित्सकले बेलुका साढे ८ बजे मृत घोषित गरे । विवाहको उत्सवमय माहौलमा एकाएक शोक छायो । जन्तीको तयारीमा जुटेका आफन्त मलामी बन्न पुगे । शनिबार विवाह हुने घरमा सन्नाटा छायो, पूरै गाउँ शोकमग्न भयो ।
वडाध्यक्ष रामलखन थारुका अनुसार, अर्जुनको विवाहको तयारीमा लागेको परिवार अचानक असह्य पीडामा डुब्नुपर्यो । अर्जुनका र बहिनीहरूको बिहे भई सकेको छ । अब घरमा नाबालक भाइ छन् । ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेका छन् भने प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ ।




