काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब कुनै पनि अस्पतालमा स्वास्थ्य बिमाका औषधि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेको ९८ प्रकारका औषधि अनिवार्य रूपमा अस्पतालमा उपलब्ध गराउनुपर्ने स्पष्ट पारे।
“अब अस्पतालले ‘औषधि छैन’ भनेर पन्छिन पाउँदैन,” मन्त्री पौडेलले भने, “यसलाई गैरकानुनी मानिनेछ।” उनले अस्पतालहरूलाई तोकिएका औषधिहरू अनिवार्य रूपमा भण्डारण गर्न निर्देशन दिएका छन्।
स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने योजनासहित सरकारले विभिन्न पहल अगाडि बढाएको मन्त्री पौडेलले जानकारी गराए। यद्यपि, स्वास्थ्य बिमा व्यवस्थापनमा केही चुनौतीहरू रहेको स्वीकार्दै उनले तिनको समाधानका लागि काम भइरहेको बताए।
इलाम अस्पतालका प्रमुख डा. प्रभु शाहले अस्पतालमा चिकित्सकको दरबन्दी अनुसारको व्यवस्था नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको गुनासो राखेका थिए। यस सन्दर्भमा मन्त्री पौडेलले सुगम क्षेत्रमा चिकित्सकहरू बस्न रुचाउने प्रवृत्ति रहेको उल्लेख गर्दै सरकारले अब चिकित्सकहरूलाई खटाइएको स्थानमा अनिवार्य रूपमा बस्नुपर्ने कानुनी व्यवस्था गर्न लागेको बताए।
तराईका अस्पतालहरूमा आवश्यकताभन्दा दोब्बर चिकित्सक रहने तर दुर्गम क्षेत्रमा चिकित्सकको अभाव हुने समस्यालाई सम्बोधन गर्न सरकारले ठोस नीति ल्याउने समेत मन्त्री पौडेलले बताए।




