काठमाडौं । धादिङको गल्छि गाउँपालिका-३ गुप्तेश्वरी मन्दिरमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका-६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका प्रशान्त र जयरामलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । ट्याङकर चालक गजुरी गाउँपालिका- ६ का २३ वर्षिय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




