काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई साथ दिएको छ । उक्त कार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरण र पहिचान गर्न विभिन्न स्थानमा सीसी टिभी जडान गर्न बैंकले आर्थिक सहयोग गरेको हो ।
उद्योग वाणिज्य संघको पहलमा सञ्चालित यस प्रकारको अभियानले समग्र तुलसीपुर बजारको सुरक्षा नियन्त्रण प्रणालीमा टेवा पुग्ने र स्थानीय जनतामा समेत सुरक्षाको प्रत्याभूति मिल्ने बैंकले विश्वास लिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका अन्य पदाधिकारीहरू र तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा बैङ्कका तुलसीपुर शाखा प्रमुख सरोज कुमार लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले नेपालमै टिक्न ,सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा लगायत जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।




