रिंकु सदायको मृत्यु प्रकरण : पञ्चायतमा मिलापत्र गर्ने तीन जना पक्राउ

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीय रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा नयाँ घटनाक्रम देखा परेको छ । उक्त प्रकरणमा पञ्चायतमा भाग लिएका तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल, र ४५ वर्षीय कमलेशकुमार दास रहेका छन् । उनीहरूलाई पञ्चायतद्वारा मिलापत्र गराउन र लेनदेन गर्न संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले मुद्दा दर्ता गरेको छ । डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, प्रहरीले थप अनुसन्धान गर्न सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ र उनीहरूलाई इलाका प्रहरी कार्यालय लाहानको हिरासतमा राखिएको छ ।

गत फागुन ८ गते मृतकका परिवारले चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा जाहेरी परेको थियो । सामूहिक बलात्कारमा संलग्न तीन जना र घटनालाई मिलाउने पाँच जना रहेका छन्, तर अहिलेसम्म पक्राउ गरिएको कुनै व्यक्ति छैन ।

माघ ३० गते रिंकु आफ्नो घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । २७ गते राति शौच जानु अगाडि रिंकुमाथि तीन जना छिमेकीहरूले अपहरण गरी सामूहिक बलात्कार गरेका थिए । उक्त घटना पछि, गाउँमा पञ्चायत बसेर मिलापत्र गर्ने प्रयास गरिएको थियो । पञ्चायतले पीडकलाई एक लाख ४० हजार रुपैयाँ जरिवाना भराउन र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री