महाशिवरात्रिमा ८९० ट्राफिक खटिने, कहाँ-कहाँ छ सवारी निषेध र पार्किङ सुविधा ?

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन र दर्शनार्थीलाई सहज आवत-जावत तथा सुरक्षित दर्शनको व्यवस्था मिलाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ । भक्तजनका सवारी साधनहरूका लागि तिलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर, र गुहेश्वरी पारी करिडोर सडकमा पार्किङ व्यवस्था मिलाइएको छ । दमकल, एम्बुलेन्स, र खानेपानी ट्याङ्करहरूका लागि बनकाली क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ ।

कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारीसाधनहरू तथा प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारीसाधनहरूका लागि पार्किङ स्थल तोकिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विभिन्न नाकाबाट आउने भक्तजनका सवारी साधनहरूलाई छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध गरिएको छ । यात्रुहरूको सुविधाका लागि आवत-जावतलाई व्यवस्थित बनाउन ट्राफिक नियमलाई प्रभावकारी रूपमा लागू गरिनेछ ।

गौशाला क्षेत्रमा अत्यधिक भीडभाड भएमा मात्र सवारी आवागमनलाई वैकल्पिक मार्गतर्फ डाइभर्ट गरिनेछ । यसका लागि करिडोर सडक र भित्री सडकहरूमा ट्राफिक प्रहरीको व्यापक उपस्थिति रहनेछ । चाबहिल, गौशाला, र तिलगंगा क्षेत्रमा नियमित रूपमा सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

तिनकुनेबाट सिनामंगल, बौद्ध क्षेत्रबाट गौरीघाट, पुरानो बानेश्वर, गौशाला, मित्रपार्कतर्फ आउने मालवाहक सवारी साधन निषेध गरिएको छ । वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीहरूलाई गुहेश्वरी पारी पार्किङ स्थलमा पठाइनेछ । गौशाला क्षेत्रमा अत्यधिक चाप भएमा चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर-मैतिदेवी, रातोपुल हुँदै गौशाला जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशित गरिनेछ ।

सवारी चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरीले यात्रुहरूलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह गरेको छ ।

महाशिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सहज आवागमन उपलब्ध गराउन प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा कमाण्ड सेन्टर स्थापना गरिएको छ । ८९० जना ट्राफिक प्रहरी प्रत्यक्ष रूपमा परिचालन गरिएका छन् भने आवश्यकतानुसार थप जनशक्ति खटाइनेछ । प्रहरी उपरीक्षक संजय बहादुर राउतले पशुपतिनाथ क्षेत्रमा दर्शनार्थी र भक्तजनको सुविधा सुनिश्चित गर्न ट्राफिक प्रहरी पूर्ण समर्पित भएर कार्यरत रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शिवरात्रिका अवसरमा अन्य शिवालयहरूमा हुनसक्ने भीडलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनको विशेष योजना लागू गरिने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री