काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तो मान्न गएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा बुढीगंगा-८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराका अनुसार बिहीबार राति बिहेको निम्तो खान गएका दुई समूहबीच झडप भएको थियो । झडपमा परी थापा घाइते भएका थिए । अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सूचना अधिकारी बोहोराका अनुसार आरोपित तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा बुढीगंगा-७ वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्का रहेका छन् । मृतक थापाको शव बयालपाटा अस्पतालबाट पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



