काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिंदै गरेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भएपनि आजभोलि फेरि पञ्चायती भूत सलबलाउन थालेको बताएका छन् ।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्व राजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे । ‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन्’, महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
‘सामन्तवादी राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ’, पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’ महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताएका छन् ।
आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे । ‘मैले बलिया दुई राजनीतिक दल भए मात्रै अस्थिर राजनीतिको अन्त्य हुन्छ । स्थायी सरकार बनाउन सकिन्छ भन्दै आएको छु’, महासचिव पोखरेलले भने, ‘दल खोल्न प्रतिबन्ध गर्ने होइन, थ्रेसहोल्डको प्रतिशत बढाउनु पर्छ ।’
जनता माझ गई चुनाव जितेर सत्ता चलाउन कसैलाई बन्देज नगरिने भन्दै महासचिव पोखरेलले राजनीतिक खुद्रा पसल भने आवश्यक नभएको बताएका छन् । राजनीतिक ध्रुवीकरण आजको आवश्यकता भएको बताउँदै पोखरेलले यसले बलियो राष्ट्रिय शक्ति बनाउने उनले बताए । बलियो राष्ट्रिय शक्तिले मात्र राष्ट्र निर्माणको काम गर्न सक्ने उनको धारणा छ ।
पोखरेलले ३२ सिट भएको पार्टीले आफूलाई पाँचै वर्ष शासन गर्ने म्याजिक नम्बर भएको बताउन लागेपछि कांग्रेस र एमालले हस्तक्षेप गर्नुपरेको स्पष्ट पारे । ‘लोकतन्त्र माथिको भद्दा मजाक सधैंका लागि अन्त्य गर्न दुईवटा ठूला पार्टी मिलेको हो’, उनले भने । पोखरेलले अबको नेपालको राजनीतिको विकल्प राजतन्त्र नहुने कुरा बुझ्न पनि आग्रह गरे । विश्वले ठूला ठूला आर्थिक, सामाजिक परिवर्तन गरिरहेको बेलो २ सय वर्षभन्दा बढी शासन गरेको राजतन्त्रले के गर्यो ? भन्दै उनले प्रश्न गरे । त्यसैले राजतन्त्रको भूत जगाउने प्रयत्न नगर्न पनि उनले चेतावनी दिए ।




