काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपालका दुई जना वरिष्ठ अधिकारी पुगिसकेको बताएकी छिन्।
विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर फलोअप गरिरहेको र मंगलबार बिहान दुई जना वरिष्ठ अधिकारी विश्वविद्यालयमा पुगिसकेको बताएकी हुन् । उनले भनिन्, ‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नु भएको छ ।’
विश्वविद्यालय पुगेका दुई जना अधिकारीलाई घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएको पनि बताएकी छिन् । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको पनि उनको भनाइ छ ।



