काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लगातार तेस्रो वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो ।
इक्रा नेपालका अनुसार यस प्रकारको रेटिङ प्राप्त गर्ने संस्थाले वित्तीय तथा आर्थिक दायित्व समयमा पूरा गर्ने उच्च क्षमता राख्छ। साथै, यस्ता संस्थासँगको वित्तीय कारोबारमा न्यून ऋण भुक्तानी जोखिम हुने बताइएको छ । क्रेडिट रेटिङ संस्थाले कुनै संस्था वा व्यक्तिको साखको गुणस्तर मूल्याङ्कन गरी राय प्रदान गर्ने गर्दछ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगातार तीन वर्षसम्म उच्च स्तरको रेटिङ प्राप्त गर्न सफल हुनु प्राधिकरणको वित्तीय स्थायित्व र ऋण भुक्तानी क्षमताको संकेत भएको बताए । साथै, शेयर निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाइने र सोबाट सङ्कलित रकम ठूला जलविद्युत् आयोजनामा लगानी गरिने योजना रहेको उनले जानकारी दिए ।
प्राधिकरणले करिब तीन खर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरी सोको २० प्रतिशतमा प्रिमियम थप गरी प्राथमिक शेयर सर्वसाधारणलाई निष्कासन गर्ने प्रस्ताव गरेको छ । प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब तीन सय रुपैयाँ रहने बताइएको छ ।
विगतका वर्षहरूमा नाफा अभूतपूर्व रूपमा वृद्धि भएको प्राधिकरणको वित्तीय प्रतिवेदनले देखाएको छ । २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरणले २०७३/७४ बाट नाफा कमाउन सुरु गरेको थियो । पछिल्लो आवमा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
प्राधिकरणले विद्युत् चुहावट न्यूनीकरण, प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण र आन्तरिक तथा सीमापार विद्युत् व्यापार विस्तारमार्फत वित्तीय स्थितिलाई थप मजबुत बनाउँदै लग्ने बताएको छ ।



