काठमाडौं । सत्ता गठबन्धनका दलहरूको बसेको बैठकमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवासमा बालुवाटारमा बसेको सत्ता पक्षीय बैठकमा यादव अनुपस्थित भएका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी भएका थिए ।
बैठकमा सहभागी एमालेका उपमहासचिव विष्णु रिमालले समसामयिक राजनीति र अध्यादेशका सन्दर्भमा बसेको सत्तापक्षीय दलको बैठक सकारात्मक निष्कर्षसहित केही बेरअघि सम्पन्न भएको बताएका छन् । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ ।
बैठककले संविधान संशोधनका लागि आवश्यक गृहकार्य अघि बढाउन कार्यदल बनाउने सहमति गरेको छ । गृहमन्त्री रमेश लेखकले उच्चस्तरीय राजनीतिक संयन्त्रमा कार्यदल बनाउने सहमति भइसकेको जानकारी दिए । ‘संविधान संशोधन गर्न कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको छ’ उनले भने, ‘दुवै पार्टीले आ–आफ्नो तर्फबाट नाम दिन्छौं र कार्यदलले काम गर्छ ।’




