पुँजीबजारको विकास र विस्तारको लागि निरन्तर रुपमा सक्रिय नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग सम्पादक कल्पना शर्माले गरेको कुराकानीको अंशः
तपाई नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष हुनुहुन्छ, जिम्मेवारी पाएको हैसितमा के कस्ता कामहरु अगाडी बढाईरहनु भएको छ ?
अहिले ७ प्रदेश र ७७ वटै जिल्लामा शेयर सम्बन्धी जानकारी गराउने लक्ष्य लिएर अघि बढेका छौैं । सबै प्रदेश र जिल्लामा सेयर बजार र हाम्रो संघको काम र कर्तव्यको बारेमा जानकारी गराइरहेका छौं । मैले काठमाडौं र जनकपुरमा शेयर सम्बन्धी जानकारी गराउने कार्यक्रम राखिसकेको छु । यो कार्यक्रमबाट थौरे भएपनि बजारमा शेयर सम्बन्धी राम्रो सन्देश गएको छ । अब संघको माध्यमबाट यही पुस ७ गते पोखरा र २२ गते धादिङ्गमा कार्यक्रम लिएर जादैछु ।
लगानीकर्तालाई समेटेर कसरी अगाडी बढ्दै हुनुहुन्छ ?
हामीेले एउटा म्यासेन्जर गु्प्र बनाएका छौैं । त्यसमा हामीसँग जोजो लगानीकर्ताहरु हाम्रो संघको आवद्ध हुनुहुन्छ उहाँहरुको विचार, धारणा, गुनासो, समस्या के कस्तो छ अन्तरर्क्रिया गरिरहेका हुन्छौं । हाम्रा लगानीकर्ता भौतिक रुपमा टाढा भएपनि म्यासेन्जर ग्रुपको माध्यमवाट छलफल गरेर अहिलेको समस्या र समाधानतर्फ यात्रा अगाडि बढिरहेको छ ।
पुँजीबजार सम्बन्धी काम गर्ने ३ वटा संघ छन्, हाम्रो बजारमा यति धेरै संघ चाहिन्छ र ?
हाम्रो देशमा झण्डै १५ लाख लगानीकर्ता छन् । यस्तो अवस्थामा ३ ओटा संघ हुनु जनसंख्याको हिसावले ठीकै हो । एउटा मात्रै संघ भयो भने मोनोपोली हुने डर हुन्छ । अप्सन हुँदा एउटा संघले राम्रो काम गरेन भने अर्कोले गर्छ नी ।
तपाई अध्यक्ष भएको खासै लामो समय भएको छैन, जिम्मेवारी लिईसकेपछि संघमा आवद् भएका लगानीकर्तालाई कसरी सहयोग पु¥याउनु भएको छ ?
देशका केहि प्रमुख शहरमा मात्र सीमित बजारलाई देशव्यापी बनाउने उद्देश्यले अघि बढी रहेको छु । साथै साधारण र गाउँका लगानीकर्ताका लागि भनेर हामीले छुट्टै पाठ्यक्रम तयार गर्दैछौं । जसले सबै खालका लगानीकर्तालाई सेयर बजार सम्बन्धी जानकारी दिनेछ ।
नेपाल पूजीवजार लगानीकर्ता संघको समितिको बारेमा भनिदिनुहोस न ?
नेपाल पूजीवजार लगानीकर्ता संघको केन्द्रिय कमिटी ७ जनाको छ । देशभरीकै सात प्रदेशमा संयोजक, सह संयोजक गरी १४ जना तथा जिल्ला संयोजक र सह संयोजक बनाई राखेका छौ ।अहिले सम्म झण्डै २५/ २६ जिल्लामा समेत संयोजक र सहसंयोजक छानी सकेका छौ र उहाँहरुलाई विभिन्न कामहरु दिएका छौं । जब एउटा जिल्लामा कार्यक्रम सकिन्छ फेरी अर्कोको जिल्लामा कार्यक्रम गर्छौं । एवं रितले हामी आ. व. २०७७/०७८ भित्रमा ७७ जिल्लामा पुगिसकेको हुने छौ ।
पूर्ण स्वचालित अनलाइन प्रणालीका बारेमा के भन्नुहुन्छ ?
हेर्नुस कल्पना जी अहिले आएको सिस्टम पूर्ण अनलाईन हुदै होईन । पूर्ण अनलाईन भनेको त तिन ओटा एकाउन्ट एक आपसमा जोडिएको हुनुपर्छ । जस्तो की बैंक एकाउन्ट , डिम्याट एकाउन्ट र व्रोकरमा खोलिने कारोवारी एकाउन्ट । यसो भैसकेपछी वल्ल सेयर किन्नेको खातामा सेयर जान्छ साथै वेच्नेको खातामा पैसा जान्छ । क्लोज आउट पर्ने सम्भावना हुदैन किनकी अहिले जस्तो सेयर आफ्नो डिम्यामा नआई वेच्ने परम्पराको समेत अन्त्य हुन्छ ।
तपाई स्तम्भकार पनि हुनुहुन्छ, यो क्षेत्रमा कसरी आउनुभयो ?
केहि वर्ष अगाडि म सहकारीमा काम गर्थे । यसैक्रममा म सँग भएको थोरै पैसा कता लगानी गर्ने भनेर सोचमा थिएँ । परिवारको सल्लाह अनुसार शेयर क्षेत्रमा प्रवेश गरेको हुँ ।
हाम्रो देशमा अझैपनि महिला पुरुषबीच विभेद छ, महिलामाथि हिंसा, हत्या, बलात्कारजस्ता जघन्य अपराधका श्रृंखला चलिरहेका छन्, यस्ता क्रम रोक्नका लागि के गर्नुपर्छ ?
महिलाका लागि महिलाले मात्र लडेर हुँदैन । पुरूष र महिला दुबै हातेमालो गर्दै अघि बढ्न सकेमात्रै समाजले गति लिन्छ । देशको मुहार बदलिन्छ । यदि कुनैपनि महिला हिंसामा परे सहेर बस्नु हुँदैन । आफ्नो समस्या अगाडि ल्याउनुपर्छ । पुरुषलाई पनि हिंसा गर्नुहुँदैन भनेर सिकाउनुपर्छ ।
अहिले शेयर बजार घट्दो क्रममा छ ? लगानीकर्ताहरुमा निराश बाहेक केहि देखिन्न नी ?
शेयरवजार उतारचढाव हुन स्वभाविक प्रक्रिया हो । अहिले शेयर घटे पनि भविष्यमा यसको बजार राम्रो र प्रभावकारी हुन्छ ।
अहिले केही लगानीकर्ताहरु दवाव समूह वनाएर अनसन वसि राख्नु भएको प्रति तपाईको संघ धारणा के छ ?
समसामयिक प्रश्नको लागी धन्यवाद , यो अहिलेको दवाव समूहले जारीराखेको अनसनमा मा. अर्थ मन्त्रीको राजिनामा भन्दा वाहेकका मुद्दामा हाम्रो संघले एेक्यवद्धता जनाई सकेको छ ।
अन्तमा अहिले अर्थ मन्त्रालयले मूद्रा बजार तथा पूजीबजारका समस्याहरु के के हुन भनि पहिल्याउन उच्च स्तरिय समिति वनाएकोमा यहाँको संघको धारणा के छ ?
अर्थमन्त्री डा. यूवराज खतिवडाले मूद्राबजार तथा पूजीबजारका समस्याहरु के के हुन भनि पहिल्याउन २०७५/०८/२० गते नेपाल राष्ट वैंकको डेपुटी गभर्नरको संयोजकत्वमा उच्च स्तरिय समितीबनाउनु भएको छ । उक्त समितीमा हाम्रो संघ पनि सदश्य छ । विभिन्न चरणमा छलफल गरिरहेका छौ। हाम्रो संघले १३ वुदे माग अघि सारेको छ । संभवत हामी आगामी शुक्रवार छलफलवाट तयार भएको प्रतिवेदन मा. अर्थ मन्त्रीलार्इ बुझाउनेछौ ।




