उच्च अदालतले माग्यो पूर्व डीआईजी छविलाल जोशीमाथिको थुनछेक आदेशको कैफियत

काठमाडौं । उच्च अदालत तुलसीपुर बुटवल इजलासले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशबारे स्पष्टिकरण माग गरेको छ । उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारीको इजलासले जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन झिकाउन निर्देशन दिएको हो ।

जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले दिएको थियो । तर, जोशीका छोरा रोचक जोशी, जो स्वयं अधिवक्ता हुन्, उक्त आदेश पूर्वाग्रही रहेको दाबी गर्दै उच्च अदालतमा पुनरवलोकनका लागि निवेदन दर्ता गराएका थिए ।

उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, ‘जिल्ला अदालतको आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ। उक्त प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढ्नेछ ।’ जोशी सोमबार आफैं अदालतमा उपस्थित भएका थिए । बयानपछि थुनछेक बहस सम्पन्न भएपछि जिल्ला अदालतले उनलाई थुनामा पठाउने निर्णय गरेको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत २२ जनाविरुद्ध गत माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको थियो । अभियोगपत्रअनुसार, प्रतिवादीहरूले १,८३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोप छ। यसअघि, जिल्ला अदालतले रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री