प्रमुख तीन दलले ३० वर्षसम्म देशलाई ठगेर खाए : बाबुराम

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक डा. बाबुराम भट्टराईले विगत ३० वर्षमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले देश र जनतालाई धोका दिएको आरोप लगाएका छन् । आइतबार सम्पन्न नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले वैकल्पिक शक्तिले नयाँ विचारको संश्लेषण गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

भट्टराईले तीन प्रमुख दलमाथि आक्रोश पोख्दै भने, ‘कांग्रेसले गरेन, कम्युनिस्टले गरेनन् । यी तीनवटै दल ३० वर्षदेखि जनताको भरोसा ठगिरहेका छन् । जनताले बारम्बार उनीहरूलाई अवसर दिए, तर फेरि पनि तिनैको पछि लागेर धोका पाइरहे ।’

उनले सत्तामा रहँदा यी दलहरूले निरन्तर जनताको आशा निराशामा परिणत गरेको दाबी गर्दै भने, ‘सत्तामा हुँदा सधैं आफ्नो स्वार्थमा लिप्त रहने, तर बाहिरिएपछि केही भएन भनेर नयाँ ढंगले देखिन खोज्ने पुरानो प्रवृत्तिबाट अब मुक्त हुनुपर्छ ।’

भट्टराईले वैकल्पिक शक्ति केवल बाहिरी सजावट (डेन्टिङ पेन्टिङ) गरेर पुरानै शैलीमा अघि बढेमा त्यसले राजनीतिक निकास नदिने चेतावनी दिए । ‘डेन्टिङ पेन्टिङ गरेर राज्यका विभिन्न पदमा पुग्न त सकिन्छ, तर परिवर्तन ल्याउन सकिन्न । चलाख भए प्रधानमन्त्री बन्ने अवसर पनि पाइन्छ, तर मूल कुरा विचारको संश्लेषण नै हो,’ उनले भने ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री