काठमाडौं । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो ।
ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिइन् । ‘दुई दिनमा रु एक करोड बचतकर्तालाई फिर्ता गरियो’, उनले भनिन् ।
गल्कोट र ढोरपाटनका पाँच सय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ । इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो । संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौता समेत गरिएको छ ।




