काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाइँदा कुनै धर्म, जातिविशेष वा संस्कार–संस्कृति र हालका संरचनामा केही असर नहुने बताएका छन् । बरु, त्यो थप मजबुत बनाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।
पाथीभरा देवी दर्शन केबलकार प्रालिद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ केबलकार बनाइँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको बताए । केबलकार निर्माणले बालबालिका, वृद्धवृद्धा, अशक्त र उकालो–ओरालो हिँड्न नसक्नेका निम्ति सहज र सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने उनले स्पष्ट पारे । “हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पुर्याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ,” उनले भने ।
पाथीभरा केबलकारको अनुमानित लागत तीन अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए । केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुने उनले बताए । “यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ । साथै, आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरूमा जस्तै यहाँ पनि स्थानीयलाई आयोजनाको सेयर तथा लगानीको अवसर मिल्ने कुरा त छँदै छ,” उनले भने, “केबलकार निर्माण हुँदा तीर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवर्द्धनमा ठूलो भूमिका खेल्नेछ ।”




