ज्वाइँसँगको अवैध सम्बन्धका कारण प्रेमीकै हत्या

काठमाडाैं । अवैध शारीरिक सम्बन्ध थाहा पाएपछि प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई आइतबार सार्वजनिक गरेको हो । उनीहरू नाताले ज्वाइँ–सासु हुन् । लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन् ।

उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए ।

टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या गरेको निष्कर्ष निकालेको छ । रोजगारीका सिलसिलामा श्रीमान भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आएकी थिइन् । उनले सुरुमा चिन्तामणिसँग सम्वन्ध बनाएकी थिइन् । चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो । श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन जेदूले प्रेमीसँग यौन सम्बन्ध बनाउँदै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

एक वर्षअघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन् । दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणिले चुकुल लगाएर थुनेका थिए । उनले कोठामा थुनेर गाउँले बोलाएका समेत थिए । त्यही रिसइबीको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफै घटना अनुसन्धानमा खटिएका थिए ।

प्रहरीले घटना भएको २४ घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरेको छ । उनीहरूबीचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसइबीका कारण हत्या भएको प्रहरी निष्कर्ष छ । लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकारेका छन् । उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री