क्यान इन्फोटेक २०२५: माघ २४ देखि भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौँ । सूचना प्रविधि उत्साहीहरूका लागि खुसीको खबर! कम्प्युटर एशोसिएशन नेपाल (क्यान) द्वारा आयोजित वार्षिक प्राविधिक प्रदर्शनी “क्यान इन्फोटेक २०२५” आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानका महासचिव चन्द्रविलास भुर्तेलले यो वर्षको इन्फोटेक विशेष र महत्वपूर्ण हुने जानकारी गराए। ५ दिनसम्म चल्ने यस प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नवीनतम उपलब्धिहरू प्रदर्शन गरिनुका साथै प्रविधिको विकासका लागि नीति, रणनीति, र कानुनी संरचनासम्बन्धी छलफलहरू हुनेछन्।

यस वर्षको क्यान इन्फोटेक ३०औं संस्करण हो, जसमा स्वदेशी तथा विदेशी संस्थाहरूको सहभागिता रहनेछ। हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ भने आयोजकहरूले करिब ३.५ लाख दर्शक प्रदर्शनी अवलोकन गर्न आउने अपेक्षा गरेका छन्।

सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीका लागि ५० रुपैयाँ मात्र लाग्नेछ। साथै, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, १० वर्ष मुनिका बालबालिका, र सरकारी तथा सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक रूपमा आउने अवलोकनकर्ताहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

क्यान इन्फोटेक प्रविधि क्षेत्रका पेशाकर्मी, विद्यार्थी, व्यवसायी तथा प्रविधिमा चासो राख्ने सबैका लागि एक उत्कृष्ट अवसर हो। यहाँ नयाँ प्रविधिहरू हेर्ने, स्टार्टअप तथा ठूला कम्पनीहरूसँग अन्तरक्रिया गर्ने, र उद्योगको भविष्यबारे जानकारी लिन सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री