काठमाडौं । ओखलढुंगामा भएको सडक दुर्घटनामा संलग्न गाडीका चालक भक्तपुरमा फेला परेका छन् । बिहीबार मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको गाडी दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा परी एकै परिवारका ३ जनाको मृत्यु भएको थियो भने चालक फरार थिए ।
दुर्घटनामा केपिलासगढी गाउँपालिकाकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी कृष्ण खड्काले जानकारी दिए । उनकाका अनुसार गाडीमा चालकसहित चार जना सवार थिए । चालक घटनास्थलमा फेला नपरेपछि उनको खोजी कार्य तीव्र पारिएको थियो ।
२२ वर्षीय चालक अनिल पण्डित काभ्रेमा हुनसक्ने आशंमा खोजी गरिरहेका प्रहरीले बनेपास्थित शीर मेमोरियल अस्पतालमा सोधपुछ गरेपछि उनी भक्तपुर इन्टरनेशनल अस्पतालमा पुगेको खुल्यो । त्यही अस्पतालमा उपचाररत अवस्थामा रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चालक पण्डितको हात, अनुहार र छातीमा चोट लागेको छ । हाल उनको उपचार जारी रहेको छ । प्रहरीले हालसम्म उनलाई घटनासम्बन्धी सोधपुछ नगरेको भए पनि प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना राति १ः३० देखि २ बजेबीचमा भएको अनुमान गरिएको छ ।
उक्त गाडी दिक्तेलबाट मायादेवी गुरुङको उपचारका लागि काठमाडौं आउँदै थियो । गाडी राति १० बजेतिर छुटेको र त्यसपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटना रातिको समयमा भएको अनुमान गरिएको छ । तर, बिहान स्थानीय बासिन्दाले देखेपछि मात्र प्रहरीलाई खबर गरिएको थियो । गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।



