काठमाडौं । अछामका दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ । जिल्लाको ढकारी गाउँपालिका-८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो । शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भए । शनिबार शंकास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशंका गरेका हुन् ।
परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । शंकास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलबाट प्रहरीले किशोरीहरूको शव निरीक्षण गरेर फर्किदा सम्म पनि उनीहरूको मृत्यु कसरी भयो ? घटना भवितव्य हो या हत्या भन्ने विषयमा कुनै आधार पत्ता लगाउन सकेको छैन । पोस्टमार्टमका लागि आइतबार साँझ शव जिल्ला अस्पताल अछाम ल्याएको छ ।
पोस्टमार्टम पछि मात्रै घटनाबारेका तथ्यहरू खुल्ने डिएसपी भण्डारीले जानकारी लिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौ त्यसपछि केही कुरा बाहिर आउँला ।’ घटना गम्भीर भएको हुँदा अछाममै पोस्टमार्टम हुने भए पनि दुवै जनाको शव पोस्टमार्टमको लागि नेपालगञ्ज पठाइएको छ ।




