संविधान संशोधनमा कांग्रेस-एमालेको प्रयासमात्रै पर्याप्त छैन : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान संशोधनका लागि कांग्रेस र एमालेको मात्र प्रयास पर्याप्त नहुने बताएका छन् । विराटनगरस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले संविधान सबैको साझा दस्तावेज भएकाले संशोधनका लागि सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे । ‘संविधान नेपाली कांग्रेस र एमालेको मात्र होइन । यसको संशोधनका लागि माओवादी, मधेशवादी दल, राप्रपा, रास्वपा, र अन्य साना दलहरूसँग पनि सहमति आवश्यक छ,’ उनले भने ।

उनले संविधान सबैलाई स्वीकार्य हुनुपर्ने धारणा राख्दै दुई तिहाइको बलमा मात्र संशोधनको प्रयास गर्नु गलत हुने बताए । वर्तमानमा कांग्रेस र एमालेबीच प्रारम्भिक छलफल भएको उल्लेख गर्दै उनले यो प्रक्रिया सबै दलसँगको संवादबाट अघि बढ्नुपर्ने धारणा राखे ।

डा. कोइरालाले अध्यादेश ल्याउने संवैधानिक प्रावधानको दुरुपयोग भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । ‘देश चल्न नसक्ने स्थितिमा मात्र अध्यादेश ल्याउनु पर्छ,’ उनले भने, ‘तर बलियो बहुमत भएको सरकारकै बेला अध्यादेश ल्याउनु गलत हो ।’

आगामी संसद अधिवेशन बोलाइएको भए पनि अध्यादेशबाट शासन चलाउने प्रवृत्ति चिन्ताजनक भएको उनले बताए । ‘अध्यादेशबाट शासन चलाउनु निरंकुशतातर्फको पहिलो पाइला हो,’ उनले भने, ‘यो प्रक्रिया गलत छ र यसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री