काठमाडौं । नेकपा एमाले कैलालीले पार्टी अनुशासन उल्लंघनको आरोपमा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरा भीष्मराज सुवेदीमाथि कारबाही गरेको छ ।
जिल्ला सचिवालयको शनिबार बसेको बैठकले सुवेदी बाबुछोरालाई पार्टीको संगठित सदस्यता समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला सचिव ममता प्रसाद चौधरीका अनुसार दुवैजनालाई पार्टी विरोधी गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि कारबाही गरिएको हो । उनीहरू नेकपा एमाले नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय रहेको एमालेको ठहर छ । सुवेदीहरू मातृभूमि जागरण नेपाल अभियानमा संलग्न रहेको र यो गतिविधि पार्टी अनुशासनविपरीत रहेको चौधरीको भनाई छ ।
यसैबीच, माघ ४ गते धनगढी विमानस्थलमा नेता भीम रावललाई स्वागत गर्ने क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजीले पनि पार्टीको ध्यानाकर्षण गराएको बताइएको छ ।




