काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३, लप्सीफेदीस्थित बोझेनीमा पुनः स्थानीयवासी र प्रहरीबीच तनाव उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै स्थानीयले विरोध जनाएपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थानीयवासी र प्रहरीबीच भएको झडपपछि प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा ४ जनालाई रिहा गरिएको छ भने १३ जना अझै बौद्ध प्रहरीको हिरासतमा रहेका छन् । काममा अवरोध पुर्याएको आरोपमा उनीहरूलाई हिरासतमा राखिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए ।
laहीबार बिहान ११ बजे डोजर पुग्नासाथ स्थानीयले ढुंगा प्रहार गर्दै निर्माण कार्यमा अवरोध गरे। त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिने क्रममा तनाव चुलिएको थियो । स्थानीयको भनाइ अनुसार प्रहरीको धरपकड राति ९ बजेसम्म जारी रहेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले तामाकोशी र सुनकोशी नदीसहितका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी क्षमताको सबस्टेसन निर्माण गरिरहेको छ ।
सबस्टेसन बस्तीको बीचमा बनाउन नहुने भन्दै स्थानीयले लामो समयदेखि विरोध जनाउँदै आएका छन् । यसअघि पनि २०८० साल मंसिरमा भएको झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित तीन सुरक्षाकर्मी घाइते भएका थिए । सबस्टेसन निर्माणका लागि ५० जना जग्गाधनीहरूको १७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । मुआब्जा र क्षतिपूर्ति स्वरूप ५० करोड रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । २०७४ सालमा सार्वजनिक सूचना जारी गरी माघ महिनामा मुआब्जा निर्धारण गरिएको थियो ।
प्रतिकृया दिनुहॊस