काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरीतर्फका २५ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले सोमबार राति उनीहरुको बढुवा सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले जनाएको छ ।
३८ प्रतिस्पर्धीमध्ये २५ को छनौट कष्टकर हुँदा बढुवा सिफारिस विलम्ब हुँदै आएको थियो । प्रकाशित बढुवा सिफारिसमा २०७५ फागुन ७ र २०७७ वैशाख ११ मा डीएसपीबाट एसपी बढुवा हुनेहरू पनि समेटिएका छन् । पहिलो लट, अर्थात् २०७५ फागुन ७ मा एसपी बढुवा हुनेमध्येका रमेश थापाले एसएसपी बढुवामा पनि पहिलो नम्बरको अग्रता कायम राखेका छन् ।
सोही ब्याचबाट दोस्रो र तेस्रो सूचीमा एसपी बढुवा हुनेहरू एसएसपी बढुवामा अगाडि परेका छन् । दोस्रो सूचीका एसपी शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, तेस्रो लटका सन्तोषसिंह राठौर, राजेन्द्रप्रसाद धमलासहित एसएसपी बढुवाको पहिलो सूचीमा पर्न सफल भए । तर, पहिलो सूचीमै एसपी बढुवा भए पनि ‘भैसेपाटी हनिट्र्याप काण्डमा’ विवादमा मुछिएका कमल थापा र अर्का विवादास्पद एसपी प्रकाश रानाभाट बढुवा सिफारिसबाट बाहिरिएका छन् ।
एसएसपी बढुवाका निम्ति सिफारिस हुने अन्यमा अजय केसी, अनुपमसमशेर जबरा, वीरबहादुर बुढा मगर, नवराज अधिकारी, कृष्णप्रासाद कोइराला, होविन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्यामकुमार महतो, बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सन्जयसिंह थापा, विमलराज कडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल छन् ।
प्रतिकृया दिनुहॊस