चीनले नेपाललाई बुझायो रेलमार्गसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन

काठमाडौं । चीनले केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । काठमाडौंमा सोमबार आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।

भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदन बुझाएको छ । केरुङ-काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले आफूले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिए ।

बैठकमा दुवै पक्षबीच सो प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल गरिएको छ । बैठकले काठमाडौं-पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आन नेतृत्वको चिनियाँ उच्चस्तरीय टोली मंगलबार रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले बताए । १ सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं-पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ ।

नौ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ५७ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । यता, केरुङ-काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाइ नगर्न पनि दुवै पक्ष सहमत भएका छन् । चीनमा आयोजना हुने सो कमिटीको आगामी बैठकले केरुङ-काठमाडौं रेलमार्ग निर्माणको लागि आवश्यक विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले बताए । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि  सो रेलमार्ग निर्माणको तयारीको कामले गति लिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री