काठमाडौं । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन–अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन् ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे । गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।
मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ । आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए । केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उनको भनाइ छ ।
विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दूरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,” उनले भने




