काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार क्वालिफायर–२ मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:३० बजे सुरु हुनेछ । यो खेलको विजेताले फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नुपर्ने छ।
जनकपुरले क्वालिफायर १ मा सुदूरपश्चिमसँग ८ विकेटको हार व्यहोरेको थियो । तर, लिग चरणमा दोस्रो हुँदै क्वालिफायरमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो ।
कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो । बुधबार पहिलो क्वालिफायरमा विजयी हुँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुगिसकेको छ । अब आज विजयी हुने टोली उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्ने छ ।
उपाधि विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका थिए । एलिमिनेटरबाट बाहिरिएको चितवनले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।




