काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्वमा फेरबदल भएको छ । संघको अध्यक्ष पदमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको साझा मञ्चका रूपमा रहेको यस संघमा कोइरालाको एकल उम्मेदवारी परेकाले उनी आगामी कार्यकालका लागि अध्यक्ष बनेका हुन् ।
संघको उपाध्यक्ष पदमा भने ग्लोबल आईएमई बैंकका सुरेन्द्र रेग्मी चयन भएका छन्। संघमा अध्यक्ष, उपाध्यक्षसहित आठ सदस्य रहने संरचना छ। संघको नियमअनुसार, निवर्तमान अध्यक्षलाई अध्यक्षपछिको दोस्रो वरियतामा राख्ने गरिन्छ। कोइरालाले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएसँगै खाली हुन लागेको पदमा सुरेन्द्र रेग्मी चयन भएका हुन्।
यसैगरी, संघमा हाल नेपाल एसबीआई बैंकका दीपकुमार डेले आफ्नो कार्यकाल पूरा गर्दै संघबाट बिदा लिन लागेका छन्। त्यस्तै, हाल संघको एक सदस्य पद खाली रहेकाले नेपाल बैंकका तिलकराज पाण्डे र कुमारी बैंकका रामचन्द्र खनाल निर्विरोध चयन भएका छन्।
संघका अन्य सदस्यहरूमा प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम बैंकका सञ्जीव मानन्धर, एभरेस्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दर प्रसाद कँडेल र हिमालयन बैंकका अशोक राणा यथावत् रहनेछन्।
संघको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता आज सम्पन्न भएको हो । अब बुधबार हुने साधारणसभामा नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिनेछ ।




