काठमाडौं । काठमाडौं प्रहरीले १३ वर्षदेखि फरार नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई पक्राउ गरेको छ। भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका श्रेष्ठलाई काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार श्रेष्ठविरुद्धको फैसला कार्यान्वयनका लागि प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ‘भ्रष्टाचार मुद्दामा अदालतले दोषी ठहर गरेको व्यक्तिलाई पक्राउ गरी फैसला कार्यान्वयन गर्नका लागि हाम्रो टोलीले यो कारबाही गरेको हो,’ प्रवक्ता अधिकारीले भने ।
श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । आरोप अनुसार, नेपाल बैंक लिमिटेडका उपप्रबन्धक रहेका बेला उनले कर्जा प्रवाह प्रक्रियामा ३९ करोड ८९ लाखको हानी पु-याउने गरी अख्तियारको दुरुपयोग गरेका थिए । आयोगको अनुसन्धानपछि उनी दोषी ठहर भएका थिए ।
पक्राउ परेका श्रेष्ठलाई सोमबार अदालतमा पेश गरिने जानकारी प्रवक्ता अधिकारीले दिएका छन् ।




