बीवाईडीको एमपीभी एम६ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । विद्युतीय सवारी निर्माता बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ । कम्पनीले नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभी भनेको गाडी पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुने बताएको छ ।

कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ छ । हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले यो एमपीभी (मल्टी युटिलिटी भेइकल) नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटीका आधारमा डिजाइन गरिएको बताएको छ ।

गाडीमा रहेका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटी छ । यस्तै एम६ मा १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर (डब्लुएलटीसी) सम्मको रेन्ज छ ।

बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्ने र यसबाट ३७.४ मिनेटमै फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर जस्ता एड्भान्स्ड सेफ्टी फिचर छन् ।

१२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधि पनि गाडीमा छन् । बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले पुस ९ गतेसम्म नगद १ लाख ५० हजार छुट पाउने कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री