पश्चिम पहाडी जिल्लामा हिमपात, कृषक खुसी

काठमाडौं । पश्चिम पहाडी जिल्लामा हिमपात भएको छ । हुम्ला, बाजुरा, बझाङमा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो ।

बाजुराकाे हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् ।

यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका-३ का स्थानीय कमल रावलले बताए । वर्षासँगै हिमपात भएपछि कृषक खुसी भएका छन् ।

यस्तै हुम्ला सदरमुकाम सिमकोटमा तीन इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताए । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

हुम्लीवासीले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री