रास्वपाले भन्यो- लोकतन्त्रमा दलीय दम्भको खतरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी रकम अपचलन आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले गैरन्यायिक र अमानवीय व्यवहार गरेको आरोप लगाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले शुक्रबार जारी गरेको विज्ञप्तिमा सभापति लामिछानेलाई अपराधीजस्तो व्यवहार गर्दै रातारात पोखरा लगेको घटनालाई निन्दनीय र आश्चर्यजनक बताएका छन् ।

चितवनमा बयान सकिएपछि बुधबार राति लामिछानेलाई पोखरा लगिएको थियो । उक्त कार्यलाई रास्वपाले संविधान र कानूनी प्रावधानहरूको उल्लंघन गर्दै गरिएको गैरन्यायिक चालको संज्ञा दिएको छ । सरकारले यो कदमको औचित्य पुष्टि गर्नुपर्ने र नागरिकका मानव अधिकारको संरक्षण गर्नुपर्ने रास्वपाको माग छ ।

रास्वपाले घटनाबारे अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूको ध्यानाकर्षण गराउँदै सरकारको कदमले नागरिकको नैसर्गिक अधिकार हनन गरेको दाबी गरेको छ । विज्ञप्तिमा संविधानको धारा १८ र २२, मुलुकी अपराध संहिता २०७४ को दफा १६७ तथा यातना विरोधी महासन्धि, १९८४ को उल्लंघन गरिएको उल्लेख छ ।

चितवन प्रशासनको स्पष्टीकरण
चितवन प्रशासनले लामिछानेलाई राति पोखरा लैजानुको कारणका रूपमा सम्भावित मानवीय क्षति रोक्ने उद्देश्य रहेको बताएको छ । बयानका क्रममा रास्वपाका कार्यकर्ताहरूले प्रदर्शन गर्दै अवरोध गर्न खोजेपछि राति नै लामिछानेलाई पोखरा लगिएको प्रशासनले दाबी गरेको छ ।

लामिछानेमाथि सूर्यदर्शन सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दाहरूमा अनुसन्धान भइरहेको छ । पोखरा प्रहरी हिरासतमा रहेका उनलाई अन्य चार सहकारी ठगी आरोपमा पनि अनुसन्धान गरिँदैछ ।

गत कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका लामिछानेलाई हालसम्म विभिन्न जिल्ला र अदालतमा पुर्‍याएर बयान गराइएको छ । हाल उनी कास्की प्रहरीको हिरासतमा छन्, जहाँबाट पर्सा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

रास्वपाले लामिछानेलाई आरोपितमात्र भएको र कानुनी प्रक्रियामा सहयोग गरिरहेको बताउँदै सरकारलाई लोकतान्त्रिक व्यवस्थामाथि आघात पुर्‍याउन नहुने चेतावनी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री