महालक्ष्मी विकास बैंकद्वारा अपांगमैत्री बैंकिङ्ग सेवामा अग्रसरता, दरबारमार्ग शाखालाई अपांगमैत्री बनाउने

काठमाडौं । ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष कार्यक्रम सम्पन्न गरेको छ। बैंकले अपांगता भएका व्यक्तिहरुको सहजीकरण र समावेशी बैंकिङ्ग सेवाको विकासलाई प्राथमिकता दिँदै दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रूपमा विकास गर्ने घोषणा गरेको छ।

अपांगता भएका व्यक्तिहरुलाई सहज बैंकिङ्ग सेवा उपलब्ध गराउन दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई विशेष सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको छ। यस शाखाले उपलब्ध स्रोत साधनहरुको अधिकतम प्रयोग गरी बैंकिङ्ग कारोबारलाई थप सरल र सुलभ बनाउने प्रयास गर्नेछ।

संयुक्त राष्ट्रसंघ र नेपाल सरकारले तय गरेको यस वर्षको नारा, ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ लाई आत्मसात गर्दै, महालक्ष्मी विकास बैंकले अपाङ्गता संरक्षण नेपालसँग सहकार्यमा विशेष सहयोग कार्यक्रम पनि आयोजना गरेको छ। बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित कार्यक्रममा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडीजस्ता उपयोगी सामग्रीहरु वितरण गरिएको छ।

बैंकले विश्वास व्यक्त गरेको छ कि यस किसिमका प्रयासहरूले अपांगता भएका व्यक्तिहरुको सहज जीवन यापनमा योगदान पुर्‍याउने र समावेशी तथा दिगो भविष्यको आधार निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछन्।

साथै, बैंकले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई थप सुरक्षित र सहज बनाउन ‘महालक्ष्मी स्मार्ट साथी’ नामक मोबाइल एप्लिकेसन परिष्कृत गरी सञ्चालनमा ल्याएको छ। यो अत्याधुनिक सुविधा ग्राहकहरुको आवश्यकता र आधुनिक बैंकिङ्ग अभ्यासलाई लक्षित गर्दै प्रस्तुत गरिएको छ।

महालक्ष्मी विकास बैंकले आगामी दिनमा पनि समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै समावेशी र दिगो भविष्य निर्माणमा सक्रियता जारी राख्ने बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री