काठमाडौं । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि लहानमा तनावग्रस्त बनेको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । उनीहरुले टायर बालेर पूर्वपश्चिम राजमार्ग ठप्प बनाएका छन् ।
अहिले सयौं सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ ।
उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्टै गाडी ठक्कर दिएर भारततर्फ भागेको बताइएको छ । मृतक सई यादव बीओपी बरहरीमा कार्यरत थिए । उनीसँगै अन्य चार सशस्त्र प्रहरी पनि ड्युटीमा थिए । मृतक सई यादवको शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहॊस