काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ ।
सोमवार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन् । अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो ।
भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे । अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको भनाइ छ ।
उनले नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा सुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले आफू बिरामी नभईकन स्वास्थ्यको महत्त्व बुझ्न नसकिने उल्लेख गर्दै बिरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहॊस