राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः वन्त

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् । समूहको शनिबार काठमाडौंमा आयोजित २७ औं साधारणसभा तथा १३ औं अधिवेशनले राष्ट्रिय समाचार समितिका फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भए ।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । विसं २०५३ मा स्थापित सो समूह फोटो पत्रकारको पहिलो छाता संगठन हो । समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।

कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ फोटो पत्रकार गणेश बिष्ट, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्य, ‘पर्या–पर्यटन फोटो पत्रकारिता सम्मान’ प्रविन श्रेष्ठ, ‘मनोरञ्जन फोटो पत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठ र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरिएको थियो ।

यस्तै ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ बाट सिविन नेपालकी फोटो पत्रकार रमिता छुँजु, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ बाट कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री