सीमामा सुरक्षाकर्मी र राजस्वको टोलीमाथि ढुङ्गामुढा

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, स्थित एक घरमा राजस्व छलेर भण्डारण गरिएको ११२ बोरा चिनी बरामद गर्ने सशस्त्र प्रहरी र राजस्व अनुसन्धानको टोलीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गरेका छन् ।

राजस्व छलेर चिनी भण्डारण गरिएको सूचनाका आधारमा बिहीबार साँझ खानतलासीका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको राजस्व प्रहरी इकाईबाट खटिएको टोलीमाथि मादक पदार्थ सेवन गरेका करिब दुई सय स्थानीयले बाटोमा अवरोध सिर्जना गरेर आक्रमण गरेको सशस्त्र प्रहरी बल २७ नम्बर गण हेड क्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले जानकारी दिए ।

एसपी थापाका अनुसार राजस्व अनुसन्धान अधिकृत राजबहादुर विष्ट र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको टोलीमाथि आक्रमण गरिएको थियो । राजस्व र सशस्त्र प्रहरीको टोलीले लुम्बिनी सांस्कृतिक–२, स्थित दीलीप लोधको घरमा छापा मारेर ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा आक्रमण भएको थियो ।

आक्रमणको खबरलगत्तै सदरमुकाम भैरहवाबाट प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्षक थापा र बुटवलस्थित प्रमुख राजस्व अनुसन्धान अधिकृत विवेक घिमिरेसहित ७० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । उक्त टोलीले भीड तितरबितर पारेर बरामद चिनी, सवारी साधन, सुरक्षाकर्मी र कर्मचारीलाई सुरक्षित फिर्ता ल्याएको थियो ।

एसपी थापाका अनुसार स्थानीयले ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीको दायाँतर्फका दुईवटा झ्याल फुटेका छन् । त्यस्तै सशस्त्र प्रहरी बल २७ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरीको दायाँ हात र सशस्त्र प्रहरी राजस्व इकाई बुटवलमा कार्यरत जवान चन्द्रमा पाण्डेको दायाँ हातमा चोट लागेको छ । घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस