काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजधानी काठमाडौंको बालुवाटार क्षेत्रमा विरोध प्रदर्शनको तयारीमा जुटेको छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो ।
लामिछानेको गिरफ्तारीलाई पार्टीले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै आएको छ, र यस मुद्दामा सरकारको कदमलाई कडा रूपमा आलोचना गरिरहेको छ । रास्वपाले आजको विरोधलाई ‘रचनात्मक प्रतिरोध’को रूपमा प्रस्तुत गर्दै विभिन्न सृजनात्मक कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाएको छ । यस क्रममा प्रदर्शनमा नाराबाजी, गीत, कविता, तथा राजनीतिक ब्यंग्य प्रस्तुत गरिनेछ ।
प्रदर्शनमा सहभागीहरूमाझ रास्वपाका उच्च पदाधिकारीहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, र सांसद सोविता गौतमले आ-आफ्ना धारणा राख्नेछन् । उनीहरूले रवि लामिछानेको पक्राउ र त्यसका पछाडिको राजनीतिक कारणलाई उजागर गर्दै, पार्टीको प्रतिरोधको धारणा स्पष्ट पार्ने बताइएको छ ।
कार्यक्रमदिउँसो १२ बजेदेखि साढे २ बजेसम्म सञ्चालन हुनेछ । यसलाई उपसभापति डीपी अर्यालले समापन गर्ने योजना रहेको छ । विरोध प्रदर्शनलाई विशेष रूपमा बालुवाटार क्षेत्रमा आयोजना गरिएकाले सरकारलाई प्रत्यक्ष रूपमा दबाब दिने प्रयास भएको बताइएको छ ।
प्रतिकृया दिनुहॊस