बिफिन र भिक्टोरिया युनिभर्सिटीबीच महत्वपूर्ण समझदारी

काठमाडौँ । नेपालमा वित्तीय तथा बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूको शैक्षिक अवसरलाई मध्यनजर गर्दै बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र अस्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयबीच एक महत्वपूर्ण समझदारी भएको छ ।

यस समझदारीअनुसार, बिफिनसँग आबद्ध वित्तीय संस्थाका कर्मचारी, तिनका छोराछोरी, र अन्य नातेदारहरूलाई विश्वविद्यालयमा ३० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी भिक्टोरिया विश्वविद्यालयमा सम्पन्न आठौं लिडरसिप डेभलपमेन्ट कार्यक्रममा घोषणा गरिएको हो ।

बिफिनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस समझदारीको औपचारिक जानकारी गराएको छ । बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भिक्टोरिया विश्वविद्यालयका उपकुलपति मोन्टी सिंहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस छात्रवृत्ति योजनाअन्तर्गत बिफिनमा आबद्ध वित्तीय संस्थाका कर्मचारीहरूले आफ्ना परिवारका सदस्यहरूको उच्च शिक्षाका लागि भिक्टोरिया विश्वविद्यालयमा नामांकन गराउन ट्युसन फिमा ३० प्रतिशतसम्म छुट पाउनेछन् । यसले विशेषगरी अस्ट्रेलियामा शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ठूलो अवसरको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

समझदारीको अवसरमा बिफिनका प्रबन्ध निर्देशक डा. आत्रेयले यस सम्झौताबाट आफूहरू निकै उत्साहित भएको जनाउँदै भने, “यो समझदारीले बिफिनमा आबद्ध कर्मचारीहरू र तिनका परिवारका लागि विश्वस्तरीय शिक्षामा पहुँच पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

विश्वविद्यालयसँगको यो सहकार्यले नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरूको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ । यसले बिफिनलाई मात्रै नभएर नेपालका वित्तीय संस्थाहरूका कर्मचारी र उनीहरूका सन्तानलाई उच्च गुणस्तरको शिक्षामा पहुँच प्रदान गर्न सघाउनेछ ।

भिक्टोरिया विश्वविद्यालयको सहयोगमा सुरु गरिएको यो कार्यक्रमले भविष्यमा थप अवसरहरूको सिर्जना गर्ने आशा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ …

प्रतिकृया दिनुहॊस