काठमाडाैं । कुनै समय शेयर लगानीकर्ताका लागि असाध्यै आकर्षक क्षेत्रको रूपमा रहेको माइक्रो फाइनान्स समूहको शेयर उच्च बिन्दुले घटेको छ । बजार निरन्तर ओरालो लाग्दाको परिमाणसमेत सो समूहले भोग्नुपरेको छ । बजार घटेर न्यून बिन्दुमा पुग्दा त्यसको प्रभाव स्वतः माइक्रोफाइनान्समा परेको हो ।
नेपाल स्टक एक्सचेञ्जमा हाल ३८ माइक्रो फाइनान्स संस्था दर्ता छन् । ती संस्थाले नियमित रुपमा कारोवार गरिरहेका छन् । गत वर्ष उच्च बिन्दुमा रहेका ती कम्पनीका शेयर यस वर्षको मङ्सिर दोस्रो सातासम्म आइपुग्दा न्यून बिन्दुमा पुगेका हुन् । साताको कारोवार हुने अन्तिम दिन अर्थात् मंसिर १३ गतेसम्म शेयर बजार दोहोरो अंकले घटेर एक हजार १४८ बिन्दुमा पुगेको छ । करीब चार हजारको बिन्दुमा रहेका माइक्रो फाइनान्स समूहका शेयर घटेर न्यूनतम ५०० को बिन्दुमा झरेका छन् ।
स्टकमा सूचीकृत आरम्भ माइक्रो फाइनान्सको पछिल्लो कारोवार प्रतिकित्ता ७१० मा भएको छ । प्रतिकित्ता ९६३ सम्म कारोवार भएको सो कम्पनीको शेयर ओरालो लागेको छ । छिमेक लघुवित्त विकास बैंकको शेयर गत वर्ष एक हजार १३० मा कारोवार भएको थियो । सो कम्पनीको शेयर ओरालो लागेर हाल ८५३ मा खरीद बिक्री भएको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरसमेत घटेको छ। गत वर्ष एक हजार ३२ मा कारोवार भएको सो कम्पनीको शेयर हाल ५५६ मा कारोवार भएको छ । डिप्रोक लघुवित्त वित्तीय संस्था ५९० र फष्ट माइक्रो फाइनान्स ३३० मा कारोवार हुँदा फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्थाको शेयर एक हजार ८३६ मा सीमित भएको छ ।
गत वर्ष फरवार्डको तीन हजार ५३२ मा खरीद बिक्री भएको थियो । गत वर्ष मंसिरमा एक हजार ५६२ मा खरीद बिक्री भएको ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको शेयर बिहीबार एक हजार ४४ मा कारोवार भएको थियो । कुनै समय अत्यधिक मात्रामा आकर्षक मानिएको जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको शेयर फराकिलो बिन्दुले घटेको छ । गत वर्षको मंसिरमा तीन हजार ७७५ मा कारोवार भएको सो संस्थाको शेयर ओरालो लागेर दुई हजार ६०० मा झरेको छ ।




