महाकाली नदीको जलस्तर खतराको तह पार

काठमाडौँ । कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।’ प्रहरी निरीक्षक थापाले भने, ‘दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।’ उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ । यसका कारण बस्ती डुबानमा परेका छन् भने एक-दुई परिवार विस्थापित भएका छन् ।

त्यसैगरि लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ । वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो …

प्रतिकृया दिनुहॊस