पाँच महिनादेखि तलब नदिएको भन्दै शिक्षक आन्दोलनमा

काठमाडाैं । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ। नगरपालिकाले विगत पाँच महिनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो।

नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि तलब पाउन सकेका छैनन्। आफूहरुले पटक–पटक नगरपालिकामा समस्या राखे पनि सुनुवाइ नभएकाले ‘पेनडाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको शिक्षकहरुले बताएका छन्। उधारोमा धेरै काम गर्न नसकिने भन्दै तलब सुविधा नपाएसम्म आन्दोलन नरोकिने शिक्षक महासङ्घ सल्यानका सचिव सुरेशसिंह राठौरले जानकारी दिए। ‘तलब नखाएर काम गर्न लागेको पाँच महिना बितिसक्यो नगरपालिकाभित्रका शिक्षकले तलब खान पाएका छ्रैनन्, उधारोमा काम कहिले सम्म गर्ने?’, सचिव राठौरले भने।

लामो समयसम्म पनि तलब नपाएपछि घर खर्चसमेत चलाउन गाह्रो हुनथालेको सरस्वती आधारभूत विद्यालय सल्लीबजारका शिक्षक सुरेन्द्र खड््काले गुनासो गर्दै भने, ‘हामी हाम्रा विद्यार्थीको भविष्यप्रति चिन्तित छौँ, पटक–पटक नगरपालिकामा आफ्नो समस्या राख्यौँ तर सुनुवाइ भएन, विकल्प नभएपछि विद्यालय बन्द गरेका हौँ।’ समयमै नगरपरिषद् नहुँदा शिक्षकसहित नगरपालिकाका कर्मचारीले तलब पाएका छैनन् भने विकास निर्माणका कामसमेत ठप्प छ। कार्यपालिकको बैठक पटक–पटक बसे पनि सहमति हुन सकेको छैन। गत आर्थिक वर्षमा नगरपालिकाभित्र सम्पन्न भएका क्रियाकलापको समीक्षा गर्नुपर्ने माग राख्दै उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्य प्रमुखको विपक्षमा उभिएपछि परिषद् हुन नसकेको हो।

कर्मचारी तथा शिक्षकलाई तलब सुविधा तत्काल उपलब्ध गराउने पक्षमा आफूहरु रहेको नगरउपप्रमुख मञ्जु ऐरीले बताइन्। ‘हामी पनि नगरपालिकाभित्रका सबै कर्मचारीको पक्षमै छौँ, हामीले कार्यपालिकाको बैठकमा गत आर्थिक वर्षमा सम्पन्न क्रियाकलापको समीक्षा गरौँ भनेका छौँ, समीक्षा गर्न सहमत भए हामी नगरपरिषद् गर्न सहमत छौँ’, उनले भने। नगरप्रमुख गोविन्द पुनले छिट्टै समस्या समाधान हुने बताए। शिक्षकका मागप्रति आफू गम्भीर भएको भन्दै छिट्टै कार्यपालिकाको बैठक गरेर समस्या समाधान गरिने उनले जानकारी दिए।

मङ्सिर ११ गतेदेखि विद्यालय बन्द भएपछि विद्यार्थी घाम तापी फर्किने गरेका छन्। परिषद्को बैठक समयमा हुन नसक्दा नगरपालिकाभित्रका ३४२ शिक्षकले तलब पाउन सकेका छैनन्। वनगाड कुपिण्डे नगरपालिकामा ६५ विद्यालयमा ३४२ शिक्षक कार्यरत छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङमा पिकअपभ्यान दुर्घटना, चालकसहित ५ जनाको मृत्यु

काठमाडौं । बागलुङमा ‘पिकअपभ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान जैमिनी-७ जैदीको व्यार्थला नजिकै बिहान दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहॊस