काठमाडाैं । चेल्सीले यूईएफए युरोपा लिग अन्तर्गत समूह ‘एल’ को खेलमा पाओक सलोनिकालाई ४-० को फराकिलो अन्तरले हराएको छ । चेल्सीको जितमा फ्रान्सेली फरवार्ड ओलिभिएर जिरूडले दुई गोल गरे । खेलको सातौं मिनेटमा पाओक १० खेलाडीमा सिमित भयो ।
ओलिभिएर जिरूडलाई फल गरेपछि रेफ्रीले काचेरिदीलाई सिधै रातो कार्ड देखाएपछि ग्रीक टोली १० खेलाडीमा सिमित भएको थियो । खेलको २७ औं मिनेटमा चेल्सीको लागि जिरूडले पहिलो गोल गर्दै सुरूवाती अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा मिडफिल्डर सेस फाब्रीगासको पासमा जिरूडले उत्कृष्ट गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २-० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप आक्रमक खेल्यो । खेलको ६० औं मिनेटमा क्यालम हड्सन ओडोईले गोल गर्दै चेल्सीलाई ३-० ले अघि बढाए । खेलको ७८ औं मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोराटाले गोल गर्दै ४-० को जित पक्का गरे ।
यो सँगै चेल्सी युरोपा लिगको लगातार पाँच खेल जित्ने दोस्रो इंग्लिस टोली बनेको छ । यसअघि टोटेनहमले पनि सन् २०१३-१४ मा यस सफलता हासिल गरेको थियो । चेल्सीले सन् २०१० नोभेम्बरयता लगातार ५ युरोपेली खेल जितेको हो । अंक तालिकामा चेल्सीको ५ खेलमा १५ अंक छ भने बाटे बोरिसोभ र मोल भिडीको ६-६ अंक छ। पाओकको ५ खेलमा ३ अंक छ । अन्तिम खेलमा चेल्सीले मोल भिडीको सामना गर्नेछ ।
प्रतिकृया दिनुहॊस