अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलाइयो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । अमेरिकाको टेक्सास राज्यस्थित ह्युष्टनमा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छ । हस्टन प्रहरीले बिहीबार पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका ती व्यक्तिको पहिचान खुलाएको हो ।

पक्राउ परेका ५१ वर्षीय व्यक्ति बबी सिंह शाह भएको खुलेको छ । उनलाई सीसीटीभीमा देखिएको तस्बिरका आधारमा प्रहरीले पक्राउ गरेको थियो । बुधबार ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएको प्रत्यक्षदर्शीको सूचनाको आधारमा प्रहरीले बबी सिंहलाई पक्राउ गरेको हो ।

उनीविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आशययुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ । अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो ।

सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । उनी विरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहीबार अदालतमा पेश गरिने भएको छ । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । उनी परिवारमा एकमात्र सन्तान हुन् ।

उनको शनिबारदेखि नै फोन अफ रहेकाले घटना शनिबार नै भएको हुनसक्ने आशंका गरिएको छ । तर घटना कहिले र कसरी भएको हो भन्नेबारे अझै पुष्ट विवरण प्राप्त भएको छैन । घटनाको उद्देश्य के थियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds