काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशी नागरिक मोहम्मद युनुस स्वदेश फर्किँदै छन् । बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गर्ने निर्णयपछि देश फर्किन लागेका हुन् ।
हाल युरोपमा रहेका ८४ वर्षीय युनुस दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा जानकारी गराएको छ । बंगलादेशका राष्ट्रपतिले बुधबार नै नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् । देश फर्किएलगतै उनलाई अन्तरिम सरकारको नेतृत्वको रुपमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।
उनको शपथ ग्रहण समारोह राति आठ बजे हुने छ । उनले १५ सदस्यीय सल्लाहकार परिषद् गठन गर्ने सम्भावना रहेको मिडिया रिपोर्टहरूमा उल्लेख छ । विद्यार्थीहरूले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।
उनले विज्ञप्ति जारी गर्दै बंगलादेशबासीलाई शान्त रहन र देश बनाउन एकजुट हुन अपिल गरेका छन् । ‘म सबैलाई शान्त रहन अपिल गर्दछु । कृपया सबै प्रकारका हिंसाबाट टाढै रहनुहोला,’ युनुस सेन्टरबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘सबै विद्यार्थी, सबै राजनीतिक दलका सदस्य र गैरराजनीतिक सबै व्यक्तिलाई शान्त रहन आह्वान गर्दछु । यो हाम्रो सुन्दर देशमा धेरै राम्रा सम्भावनाहरू छन्, हामीले यसको रक्षा गर्नुपर्छ । हाम्रो लागि र हाम्रो नयाँ पिँढीका लागि एक अदभूत देश बनाउनुपर्दछ ।’
८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरूको बैंकरका रुपमा चिनिन्छन् । तर, शेख हसिनाले उनलाई गरिबको रगत चुसेको भन्दै आलोचना गर्दथिन् ।
प्रतिकृया दिनुहॊस