नम्रता ‘नम्बरी सुन’मा

काठमाडौं । नायिका नम्रता सापकोटा यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । नम्रताका अनुसार फिल्म ‘नम्बरी सुन’मा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् ।

‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । ऊ एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छे । उसमा घमण्ड छैन । उसको प्रेम आफू भन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ’, आफ्नो चरित्रबारे नम्रता भन्छिन् ।

आफ्ना हरेक फिल्ममा फरक फरक चरित्र निभाउन चाहने नम्रता दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दाबी गर्छिन् । ‘आफ्नो प्रेम प्राप्तिका लागि मेरो पात्र लड्छे । आफूले माया गरेको प्रेमीका लागि कुन हदसम्म जानसक्छे भन्ने किसिमको चरित्रमा देखिन्छु’, उनी भन्छिन् ।

उनी अगाडि भन्छिन्, ‘मैले अहिलेसम्म सोझो, बदमास, चुलबुले चरित्र निभाएँ । तर ‘नम्बरी सुन’मा शुद्ध इन्टेन्स लभ देखिन्छ । मैले यो फिल्ममा धेरै बोल्नु पनि परेको छैन । मेरो एक्सप्रेसिभ क्यारेक्टर छ । भाव नै प्रकट गरेको छु जस्तो लाग्छ’, नम्रता खुल्छिन् ।

उनी दर्शकले आफ्नो लागि भन्दा पनि कथाका लागि ‘नम्बरी सुन’ हेर्नुपर्ने धारणा राख्छिन् । ‘मेरो लागि मात्र फिल्म हेर्नुपर्छ भन्ने छैन । जुन कुरामा म विश्वास गर्दिनँ । दर्शकसँग समय छ र हलमा गएर आनन्दले फिल्म हेन चाहनुहुन्छ भने ती दर्शकका लागि ‘नम्बरी सुन’ एउटा राम्रो फिल्म बनेको छ’, नम्रता भन्छिन्, ‘यसमा विशुद्ध नेपाली अग्र्यानिक कथा छ । गाडी पनि नपुगेको गाउँमा गएर हामीले एक महिना सुटिङ गरेका छौं । त्यो बेलाको यस्तो पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाउन यो फिल्म हेर्नुपर्छ ।’

नम्रता फिल्मका ‘प्रेमी’ गौरव पहाडीको कामबाट प्रभावित रहिछन् । ‘गौरव काममा एकदमै गम्भीर छ । फिल्मका लागि ऊ एकदमै क्यारेक्टरमा बस्नुपर्ने थियो । म चाहिँ क्यारेक्टरमा बस्नु परेन । मैले गौरव, विनोद न्यौपानेबाट धेरै कुरा सिकें’, उनी भन्छिन् ।

नम्रता ‘नम्बरी सुन’बाट आशावादी सुनिइन् । ‘म हरेक फिल्मबाट आशावादी हुन्छु । किनभने फिल्म भनेको कथा मनपरेर काम गर्ने हो । सँगै म आफ्नो क्यारेक्टरलाई मेहनत गरेको हुन्छु । अहिलेसम्म मैले जति फिल्ममा काम गरें, आफ्नो क्यारेक्टर मनपरेर नै गरेकी हुँ । त्यसकारण पनि ‘नम्बरी सुन’को क्यारेक्टरबाट आशावादी छु’, उनले भनिन् ।

नम्रतालाई ‘डार्क’ किसिमको फिल्ममा काम गर्ने इच्छा रहेछ । ‘मलाई अलिकति डार्क टाइपको फिल्म गर्ने इच्छा छ । मलाई डेप्थ किसिमको प्रेमकथामा काम गर्न मन छ । सुटिङ गरेर घर जाँदा मलाई आफैलाई पुगेकै हुँदैन । भोकाई रहेको बेलामा थोरैमात्र खानेकुरमा पायो भने कस्तो खुशी भइन्छ नि त्यस्तै खालको सन्तुष्ट हुने काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘कतिवटा काम गरें । अझै गर्न बाँकी छ । तर मलाई त्यस्तो खालको काम आइदिए हुन्थ्यो, जहाँ चाहिँ म एकदमै डेप्थमा बसेर काम गर्न पाउँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सलोन बस्नेतको नयाँ फिल्म ‘रंगी’ को घोषणा

काठमाडौँ । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन …

प्रतिकृया दिनुहॊस