प्रस्तावित आयुक्तविरुद्ध यौन शोषणको उजुरी, के गर्ला संसदीय सुनुवाइ समितिले ?

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठकले प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्ने भएको हो ।

उनीमाथिको सुनुवाइ सकिइसकेकाले बिहान साढे ११ बजेपछि बस्ने गरी बोलाइएको बैठकबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय हुने छ । असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

समितिले उजुरी आह्वान गर्दा एक महिलाले प्रधानले आफूलाई यौनशोषण गरेको उजुरी दिएकी थिइन् । त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग छलफल गरेको थियो । साउन ९ गते प्रधानसँग छलफल गरेपछि समितिको बैठक स्थगित गरिएको थियो ।

समितिको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए । प्रधानको अवधारणा र कार्ययोजना सुनेपछि समिति सदस्यले उच्च नैतिक व्यक्ति रहनुपर्ने निर्वाचन आयोगजस्तो संवैधानिक निकायमा उजुरीमा उठाइएका प्रश्नको स्पष्टीकरण माग गरे ।

त्यसपछि प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदले आफ्ना शीर्ष नेतासँग छलफल गरेका थिए । आजको बैठकले उनको अनुमोदन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने सम्भावना रहेको समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती) ले जानकारी दिएकी छन् । ‘आजको बैठक एउटा टुंगोमा पुग्ला,’ उनले भनिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस