डेडिकेटेड र ट्रंक लाइन विवाद शीघ्र सुल्झाउन इप्पानको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच भएको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ बक्यौता सम्बन्धी विवादबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समय विद्युत प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगले यसविरुद्ध तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसबाट निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरूलाई चिन्ता बढाएको इप्पानले उल्लेख गरेको छ ।

इप्पानले सोमबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भए यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको छ ।

सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाले समस्या भोगिरहेका बेला भएका उद्योग–व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ ।

ऊर्जा खपतका लागि ऊर्जा उत्पादन गर्ने कम्पनी, खपत गर्ने उद्योग र यसको व्यवस्थापन गर्ने विद्युत प्राधिकरणबीच सौहार्द्रपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भन्दै इप्पानले अहिले देखिएको विवाद व्यवस्थापन गर्न ढिलो भइसकेको जनाएको छ ।

विद्युत प्राधिकरणले उद्योगको लाइन काट्ने निणर्यबाट र उद्योगीले पनि डेडिकेटेड बक्यौतालाई लिएर अरू उद्योगको लाइन आफैं विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउनु अत्यावश्यक रहेको इप्पानले उल्लेख गरेको छ ।

विधिसम्मत ढंगबाट समस्या समाधान गरी निजी क्षेत्रले उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाइदिन इप्पानले आग्रह गरेको .छ । साथै, द्वीपक्षीय छलफल र संवाद मार्फत यथाशीघ्र समस्या समाधान गर्न इप्पानले दुवै पक्षलाई अनुरोध गरेको छ । अहिले दुवै पक्षबीच देखिएको संवादहीनता र द्वन्द्वको अवस्था अन्त्यको पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्बद्ध निकायलाई इप्पानले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली बैंकले विदेशी लगानीका आयोजनामा ऋण लगानी गर्दा स्वदेशीले लगानी पाएनन् : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बैंकले विदेशी लगानीका …

प्रतिकृया दिनुहॊस