आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा, १२ महिनाको वारेन्टी

काठमाडौँ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बिहीबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन् । सुवेदीले सो स्मार्ट फोन लन्च गर्दै सरकारले आगामी दशकलाई आइटी दशकका रूपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताए ।

उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइलबिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेकाले सरकारको फोकस अहिले मोबाइल नेटवर्कका लागि `हाइ वे’ कभरेजमा केन्द्रित रहेको बताए । ‘चाहे खोल्सी होस, डाँडा पाखा, जंगल सबै तिर सेवाको कभरेज हुनु पर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रित छ,’ सुवेदीले भने । सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए । त्यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

नयाँ लन्च भएको मोडल पी ५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरू ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४ सय ९० र १४ हजार नौ सय ९० तोकिएको छ ।

आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।

ग्राहकको उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पूरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए । उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल रहने छ ।

व्यवसायीलाई १० प्रतिशत मार्जिन

आइटेलले मोबाइल व्यवसायमा आबद्ध खुद्रा व्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरी सम्झौता गरेको छ । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले मार्जिनसम्बन्धी लिखित रूपमा नै दुई पक्षीय सम्झौता गरेका हुन् । भण्डारीले अबदेखि आइटेलका कुनै पनि मोडलका सेटमा व्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए ।

मोबाइल व्यवसायी महासंघका अध्यक्ष भट्टराईले व्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने गरि सम्झौता भएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । तोलामै मूल्य करिब …

प्रतिकृया दिनुहॊस