२५ दिनमै विपद्जन्य घटनाबाट ४७ जनाको मृत्यु

काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् ।

मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताए ।

कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उल्लेख गरे । उनले चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएको र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएको बताए । उनले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताए ।

मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको बताए ।

उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आँकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ड्युटीका प्रहरीलाई चड्कन हानेको आरोप लागेकी वकिलको आँखामुनि घाउ, दुवै पक्ष न्यायको खोजीमा

काठमाडौं । अधिवक्ता नानी थापा (लक्ष्मी थापा)ले प्रहरी जवानमाथि हातपात गरेको भन्दै जाहेरी परेको छ …

प्रतिकृया दिनुहॊस